दफा
अपाङ्गताको परिचयपत्र सम्बन्धी व्यवस्था
(१) अपाङ्गता भएका व्यक्तिले अपाङ्गताको परिचयपत्र प्राप्त गर्न निज आफैले वा निजको परिवारको कुनै सदस्य वा संरक्षकले सम्बन्धित वडा स्थानीय तहको सिफारिस सहित स्थानीय तहमा निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अपाङ्गता भएका कुनै व्यक्ति आफैले निवेदन दिन नसक्ने भएमा वा निजको परिवारको कुनै सदस्य वा संरक्षक पनि नभएमा स्थानीय तहका सम्बन्धित वडाका वडा अध्यक्षले अपाङ्गता परिचयपत्रको लागि निजको तर्फबाट उपदफा (१) बमोजिम निवेदन दिन सक्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम निवेदन प्राप्त भएपछि कार्यालयले सो निवेदन उपर आवश्यक जाँचबुझ गर्नेछ र त्यसरी जाँचबुझ गर्दा प्रष्ट रुपमा अपाङ्गता देखिने व्यक्तिको हकमा अपाङ्गताको वर्गीकरण समेत उल्लेख गरी तोकिए बमोजिमको ढाँचामा अपाङ्गताको परिचयपत्र दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम निवेदन जाँचबुझ गर्दा अपाङ्गताको कुन वर्गीकरणमा पर्ने हो सो प्रष्ट नभएका वा अपाङ्गता भए वा नभएको सम्बन्धमा द्विविधा भएका व्यक्तिको हकमा कार्यालयले समन्वय समिति समक्ष पेश गरी सो समितिको सिफारिसको आधारमा उपदफा (३) बमोजिम अपाङ्गताकोपरिचयपत्र दिनु पर्नेछ ।
(५) समन्वय समितिले उपदफा (४) बमोजिम सिफारिस गर्नुअघि अपाङ्गताको परिचयपत्र प्राप्त गर्ने व्यक्तिको शारीरिक परीक्षण गर्न आवश्यक देखेमा कार्यालयको खर्चमा नजिकको सरकारी अस्पतालमा निजको स्वास्थ्य परीक्षण गराउनु पर्नेछ ।
(६) यस दफा बमोजिम जाँचबुझ वा शारीरिक परीक्षण गर्दा कुनै व्यक्तिलाई अपाङ्गताको परिचयपत्र दिन मिल्ने नदेखिएमा कार्यालयले सोको कारण सहितको जानकारी निवेदकलाई दिनु पर्नेछ ।
(७) उपदफा (६) बमोजिम अपाङ्गताको परिचयपत्र दिन नमिल्ने गरी कार्यालयबाट भएको निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले पैँतीस दिनभित्र मन्त्रालय वा मन्त्रालयले तोकेको अधिकारी समक्ष उजूरी दिन सक्नेछ र त्यस्तो उजूरी सम्बन्धमा मन्त्रालयले गरेको निर्णय अन्तिम हुनेछ ।
(८) अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र दिने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।